Tumgik
#मधयपहड
nepal123 · 7 years
Photo
Tumblr media
बेनी–दरवाङ सडक मध्यपहाडी लोकमार्गको विकल्प ! म्याग्दी, २० चैत । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले म्याग्दीलाई समेटेको छैन । यद्यपि यस लोकमार्गको बागलुङ खण्डको विकल्पका रुपमा म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन जोड्ने सडकलाई लिइएको छ । मध्यपहाडी लोकमार्गको सडक विस्तार बेनी–दरबाङ हुँदै हुनुपर्ने भए पनि जिल्लाको केन्द्रीय तहमा पहुँच पुग्न नसक्दा यसअघि उक्त सडकको म्याग्दी हुँदै विस्तार हुनुपर्ने सडक अन्यत्रै सारिएको थियो । विसं २०६२ मा बेनीदेखि दरबाङसम्म पुगेको मोटरबाटोको ट्र्याक धारापानी, ताकम हुँदै अहिले मुनासम्म पुगिसकेको छ । पश्चिम म्याग्दी क्षेत्रमा विस्तार गर्ने गरी तोराखेतसम्म पुगेको सडकलाई तत्कालीन माओवादी पार्टीले सशस्त्र द्वन्द्वकै समयमा त्यहाँबाट विस्तार गरी दरबाङसम्म पु¥याएको थियो । ‘‘द्वन्द्वकै समयमा माओवादीले विकासका काम पनि सँगसँगै अगाडि बढाएको थियो, दरबाङसम्म सडक पु¥याउन जनताबाटै झन्डै ३० लाख चन्दा सङ्कलन गरी खर्च गरिएको थियो,” माओवादी केन्द्रका जिल्ला संयोजकसमेत रहेका पूर्वसांसद गोविन्द पौडेलले भन्नुभयो । मुनासम्म पुगेको सडकलाई ढोरपाटन हुँदै बागलुङको बुर्तिबाङमा जोड्न सके मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रुपमा यो सडकलाई प्रयोगमा ल्याउन सक्ने सम्भावना रहेको पूर्वसांसद पौडेल बताउनुहुन्छ । मालढुङ्गादेखि बागलुङ हुँदै बुर्तिबाङसम्मको सडकको दूरीभन्दा बेनी–दरबाङ–मुना–ढोरपाटन हुँदै बुर्तिबाङ जोडिने दूरी झन्डै २० किलोमिटरले कम हुने भएकाले मध्यपहाडी लोकमार्गका सवारीसाधन म्याग्दी हुँदै ओहोरदोहोर गर्ने वातावरण सिर्जना गर्न सडकलाई सोही महत्वका साथ ट्र्याक विस्तार र स्तरोन्नति गर्नुपर्ने पौडेलको भनाइ छ । मुनादेखि ट्र्याक विस्तार गरी ढोरपाटन हुँदै बुर्तिबाङमा मध्यपहाडी लोकमार्गसँग जोडिन्छ भने ढोरपाटनबाट ट्र्याक विस्तार गरी रुकुमसम्म पनि जोडिने गरी योजना बनाइएको छ । हाल सडकको ट्र्याक विस्तार भएको मुनासम्म नै हिउँदको समयमा सवारीसाधन सञ्चालनमा आउने गरेको भए पनि सडकको मर्मत र स्तरोन्नति नहुँदा बर्खाको समयमा नियमितजसो सवारी अवरुद्ध हुने गरेको छ । भौगोलिक रुपमा जिल्लाको पश्चिम क्षेत्रका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्व राख्ने भए पनि आवश्यक बजेटको अभावमा यो सडक अहिलेसम्म ओझेलमा परिरहेको छ । लोकमार्गकै वैकल्पिक सडकका रुपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म केन्द्रीयस्तरबाट यस सडकलाई महत्वका साथ नहेरिएको स्थानीयवासीको गुनासो छ । सडक विस्तारका लागि भू–बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने देखिन्छ । तत्कालीन समयमा केन्द्रीय पहुँच नपुगेकै कारण लोकमार्गबाट म्याग्दीलाई हटाउँदा सिङ्गो जिल्लालाई नै अन्याय भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बताउनुभयो । हालै गृहगाउँ सिङ्गा तातोपानीमा आयोजित कार्यक्रममा उहाँले बेनी–दरबाङ–धारापानी–ताकम–मुना हुँदै ढोरपाटन सडकलाई बागलुङको बुर्तिबाङमा जोडेर सडकको स्तरोन्नति र कालोपत्र गर्न सके मध्यपहाडी लोकमार्गका सवारी म्याग्दी हुँदै ल्याउन सकिने बताउनुभएको थियो । “लोकमार्गले म्याग्दीलाई नछुँदा धेरै घाटा भएको छ, छोटो दूरी हुँदाहुँदै पनि प्राथमिकतामा नपर्नु दुःखद हो, अब आवश्यक बजेटको व्यवस्थापन हुन्छ, मध्यमहाडी मार्गको वैकल्पिक मार्गकै रुपमा यसलाई विकास गर्नुपर्छ,” उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँले चालु आवमा यस सडकखण्डको विभिन्न योजनामा विनियोजन भएको बजेटको प्रभावकारी कार्यान्वयनमा जुट्न जिल्लास्थित सरोकारवालालाई आह्वानसमेत गर्नुभएको छ । यसै वर्ष बेनी–दरवाङ–धारापानी सडकखण्डको कालोपत्र र स्तरोन्नतिमा ८० करोड बजेट विनियोजन भइसकेको छ । सदरमु्काम बेनीदेखि दरवाङ हुदै ताकमको धारापानीसम्मको करिब २९ किलोमिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्रका लागि अर्थमन्त्रालयले बहुवर्षीय ठेक्कामा लैजान स्वीकृति दिइसकेको छ । “यो बहुवर्षीय योजना हो, अहिलेको बजेटले झन्डै १८ किलोमिटर कालोपत्र हुने देखिन्छ, यद्यपि यो योजनाको प्रक्रियागत काम भइरहेको छ, त्यो पूरा भएपछि अनुमानसहित ठेक्का प्रक्रिया अगाडि बढ्छ,” सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर चन्द्रेश्वर शाहले भन्नुभयो । निकै महत्वको पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिन थालिएको छ । यो वर्ष सडक विभागले डिभिजन कार्यालय बागलुङमार्फत नै कार्यान्वयन गर्ने गरी दरबाङ–देवीस्थान–ताकम–ढोरपाटन जोड्ने सडकमा रु चार करोड आठ लाखको योजना सञ्चालन गर्दैछ । पहिले रु आठ लाख मात्रै विनियोजन भएर आए पनि हालै चार करोड थप बजेट आएको सडक डिभिजन कार्यालयले जनाएको छ । सो बजेटलाई मुनादेखि अगाडि नयाँ ट्र्याक निर्माणमा परिचालन गर्न स्थलगत भ्रमण गरी अनुमान गरिसकेको र छिट्टै विज्ञापन प्रकाशन गरी ठेक्का प्रक्रिया सुरु गरिने बताइएको छ । त्यस्तै जिविसमार्फत समेत दरबाङदेखि मुना हुँदै ढोरपाटन जोड्ने सडकलाई नै लक्ष्य गरी दुई योजना कार्यान्वयनको चरणमा रहेका छन् । जिविसबाट बेनी–दरबाङ–बिम–ताकम–लुलाङ–जलजला सडक योजनामा विनियोजित रु ६० लाख बजेटबाट म्याग्दीखोलादेखि ताकमसम्म नयाँ ट्र्याक निर्माण गरिने प्रमुख जिल्ला इन्जिनियर शिवमान श्रेष्ठले बताउनुभयो । ‘‘अर्को शीर्षकमा पनि रु ६० लाख नै बजेट छ, त्यसलाई पनि दलीय सहमतिमा संशोधन गरेका छौँ, योजना स्वीकृत भएर आयो भने यसै सडकमा नै उक्त बजेट पनि परिचालन हुन्छ,” जिल्ला इन्जिनियर श्रेष्ठले भन्नुभयो । बहुआयामिक सडक भएकाले न���ाँ सडक विस्तारसँगै पहिलेको सडकको स्तरोन्नतिमा पनि जोड दिइएको श्रेष्ठको भनाइ छ । लामो समयदेखि कच्ची र जोखिमपूर्ण अवस्थामा सवारी सञ्चालन हुँदै आएको बेनी–दरबाङ सडकमा यो वर्ष भने धेरै योजना सञ्चालित छन् । सडकखण्डअन्तर्गत दुखु खोलामा मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । जिविसले रु दुई करोड २५ लाख ६० हजार आठ सय २३ को लागतमा २२ मिटर लामो मोटरेबल पुल निर्माण सुरु गरेको हो । ठेक्का सम्झौता गरेको स्वच्छन्द गौचन निर्माण सेवा जेभीले कार्यक्षेत्रमा काम सुरु गरेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । विसं २०६७ मा सो स्थानमा मोटरेबल पुल निर्माण सुरु भए पनि डिजाइन गलत भएपछि रोकिएको थियो । पुरानो ठेक्का रद्द र पुन सर्वेक्षण गरेर पुल निर्माण हुन लागेको हो । त्यस्तै, बेनी–दरवाङ सडकअन्तर्गत फापरखेत र लाम्पाटाको पहिरो नियन्त्रणका लागि रु तीन करोड ९३ लाखमा ठेक्का सम्झौता भइसकेको छ । यी योजना बनेपछि बेनी–दरवाङ सडकमा यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ । बेनी–दरबाङ सडक सञ्चालन भएपछि म्याग्दीलाई मात्रै होइन यसले बागलुङको पश्चिम भेगका नागरिकलाई समेत सुविधा पुगेको छ । दरबाङदेखि ओखरबोट–सोले हुँदै बागलुङको तमानसम्म सडक पहुँच विस्तार भइसकेपछि तमान र लामेलाका बासिन्दाले समेत यसै सडकलाई प्रयोग गर्दै आएका छन् । उनीहरुले आफ्नै जिल्लाको सदरमुकाम जानसमेत सोले–दरबाङ–बेनी हुँदै बागलुङ सदरमुकाम जाने भएकाले यो सडक उच्च महत्वको रहेको जनप्रिय मावि दरबाङका प्रअ दिवाकर सुवेदीले बताउनुभयो । अहिले पनि म्याग्दीको बेनी र दरबाङबाट तमान क्षेत्रमा यातायात सेवा सञ्चालन हँुदै आइरहेको छ । यसले पनि यो सडकखण्ड म्याग्दीका लागि मात्रै नभई बहुजिल्लाका लागि उपयोगी र आवश्यक छ भन्ने कुराको पुष्टि गर्छ । त्यसैले मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको ट्र्याक विस्तारसँगै सडकको मर्मत, स्तरोन्नति र कालोपत्रका लागि आवश्यक बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा जुट्नुपर्ने देखिन्छ । The post बेनी–दरवाङ सडक मध्यपहाडी लोकमार्गको विकल्प ! appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मुआब्जा माग्दै मध्यपहाडी सडक विस्तारमा अवरुद्ध त्रिशूली, २ चैत । पुष्पलाल मध्यपहाडी लोकमार्गको नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म विस्तारको क्रममा मुआब्जा नदिएको भन्दै स्थानीयवासीले अवरोध पु¥याएका छन् । सडक विस्तारको क्रममा मुआब्जा नदिई सडक छेउका बस्ती हटाउन लागेको भन्दै स्थानीयवासी सङ्घर्ष समिति गठन गरी विरोधमा उत्रिएका छन् । सडक विस्तारले १०० भन्दा बढी घरपरिवार सुकुम्बासी हुने भन्दै मध्यपहाडी लोकमार्गलाई वैकल्पिक स्थान हुँदै विस्तार गर्नुपर्ने सङ्घर्ष समितिका संयोजक नारायण अधिकारीले बताउनुभयो । “विनासकारी भूकम्पबाट पीडित बासिन्दामध्ये पहाडी सडक विस्तारले पीडित मात्र नभई सुकुम्बासी हुने भएका छन् ।” सङ्घर्ष समितिका संयोजक अधिकारीले भन्नुभयो “भएको जग्गा सडकको अतिक्रमणमा परी विस्थापित हुन लागेकाले बाध्य भएर आफ्नो सम्पत्तिमा अधिकार र हक सुनिश्चित गर्न सडक विस्तारलाई अवरोध पु¥याएका हाँै ।” पुष्पलाल–मध्यपहाडी लोकमार्गको विस्तारको क्रममा नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म सडकको लागि छुट्टाउनुपर्ने जग्गा समेत अन्योल रहेको अधिकारीको गुनासो छ । सडकको दायाँबायाको क्षेत्रफल १५ मिटर वा २१ मिटर तथा २५ मिटरसम्मको चर्चा चलेको र सम्बन्धित कार्यालयबाट आधिकारिक सूचना जारी नहँुदा सडक छेउका बासिन्दा आवास निर्माण गर्न अन्योल भएको सङ्घर्ष समितिले जनाएको छ । जिल्लाको गङ्गटेदेखि ढिकुरेसम्मको मध्यपहाडी सडक क्षेत्रमा पर्ने स्थानीयवासी मिलेर गठन गरेको सङ्घर्ष समितिले फागुन दोस्रो साता नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाएर समस्या समाधानको लागि पहल गर्न आग्रह गरे पनि बेवास्था गरेको गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा सडक विस्तारले पीडित हुने बासिन्दाले आयोजना विस्तारमा वैकल्पिक स्थान खोज्नुपर्ने, विस्तार नै गर्नुपर्ने भएमा मुआब्जा दिनुपर्ने भन्दै माग सम्बोधनको गर्न गरेको आग्रहको बेवास्ता भएकाले सडक विस्तारमा अवरोध गर्न बाध्य भएको सङ्घर्ष समितिका सदस्य प्रकाश अधिकारीले बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सडकको साविकको विदुर नगरपालिका, सामरी, कल्याणपुर, खानीगाउँ, थानसिङ, महाकाली, सूर्यमतिलगायतका गाविसमा सीमाङ्कन अझै अन्योल रहेको छ । सिन्धुपाल्चोकबाट नुवाकोट हुँदै धादिङतर्फ जाने मध्यपहाडी सडकले नुवाकोटको साविकको एक नगरपालिका र १२ गाविस हुँदै सञ्चालन हुने बताए पनि त्यो प्रारम्भिक अध्यनन भनेर उल्लेख गरिएको छ । अहिलेको योजना अनुसार जिल्लाको तलाखु, लिखु, महाकाली, भदु्रटार, सुनखानी, थानापति, थानसिङ, सूर्यमति, खानीगाउँ, चारघरे, विदुर नगरपालिका, कल्याणपुर र सामरी गाविस हुँदै धादिङ प्रवेश गर्ने बताइएको छ ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड पुनःसञ्चालन गर्न काम सुरु बागलुङ, २४ फागुन- सुख्खा पहिराका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ– बुर्तिवाङ खण्ड पुनःसञ्चालन गर्न काम सुरु भएको छ । रिघा– ७ मनेवापाटामा आइतबार बिहान गएको पहिराले रोकिएको सडक खुल्न अझै तीन दिन लाग्ने जनाइएको छ । सोमबारदेखि ‘स्काभेटर’ लगाएर पहिरो हटाउन सुरु गरिएको लोकमार्गका इ राजु रानाभाटले जानकारी दिनुभयो । दुई सय मि फराकिलो र एक सय ५० मि माथिबाट खसेको पहिरो हटाउन सोमबारदेखि थप यन्त्र प्रयोग गरिने उहाँको भनाइ छ । “ठूलो पहिरोसँगै ठूला ठूला ढुङ्गा खसेकाले सडक सुचारु गर्न समय बढी लाग्ने भएको छ” रानाभाटले भन्नुभयो । सडक खुलाउने कार्यमा सोही स्थानमा निर्माणाधीन दरमखोला हाइड्रो इनर्जी लिले पनि सघाएको छ । पहिराले सडक लगेपछि लोकमार्ग भएर चल्ने सिधा यातायात बन्द भएको छ । बाग्लुङदेखि बुर्तिवाङ चल्ने र बुर्तिवाङबाट बाग्लुङ, काठमाडौँ लगायत क्षेत्रमा चल्ने यातायात अवरुद्ध छ । सदरमुकामसम्म आउजाउ गर्ने साना सवारी साधनले भने ग्रामीण भेगका वैकल्पिक सडक प्रयोग गरेका छन् । बस, ट्रक जस्ता ठूला सवारी साधान भने ठप्प भएको धवलागिरि अञ्चल जिप व्यवसायी समितिले जनाएको छ । सिधा यातायात नचलेपछि लोकमार्गमा यात्रा गर्ने सर्वसाधारणले सास्ती पाएका छन् । सडकमाथिबाट खसेको पहिराले स्थानीय दरमखोला थुनिएपछि कृत्रिम तलाउसमेत बनेको छ । तलाउ भरिएर पानी आफँै बग्न थालेपछि जोखिम कम भएको जनाइएको छ । बहाव नियमित भए पनि ताल भने यथावत् रहेको स्थानीयवासीले बताएका छन् । खोला किनारका बस्ती जोखिममुक्त रहेको र तालको पानी बिस्तारै घटिरहेको खर्वाङ प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिनुभयो । पहिराका कारण विद्युत् खम्बा ढली उच्च विद्युत् प्रवाह हुँदा ‘करेन्ट’ लागेर रिघा– ७ की ५६ वर्षीया मनकुमारी नेपालीको मृत्यु भएको थियो ।
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
मध्यपहाडी लोकमार्गबाट पीडितले थाले आन्दोलन तेह्रथुम, ६ फागुन । तेह्रथुमको म्याङलुङमा वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गाजमिन मध्यपहाडी लोकमार्ग निर्माणले मासिन थालेको भन्दै स्थानीयवासीले आन्दोलन थालेका छन् । सडक निर्माणका क्रममा आफूहरुको गाँसबास नै उठ्ने र सुकुम्वासी हुनुपर्ने अवस्था सृजना हुने भन्दै म्याङलुङका करिब दुईसय घरधुरीले लोकमार्ग पीडित सरोकार समिति नै गठन गरेर कम क्षति हुनेगरी ट्र्याक परिवर्तन गर्न माग गरेका हुन् । बिहीब���र प्रेस विज्ञप्ति जारी गर्दै सरोकार समितिले आफूहरुको आवासको अधिकारलाई रक्षा गर्दै लोकमार्ग निर्माण गर्न विभिन्न विकल्प सहितका माग राखेको छ । म्याङलुङ बसपार्कदेखि जिरीखिम्ती र हलिमेला जाने बाटोमा करिब एक किमी दूरीभित्र सडकको ट्र्याक परिवर्तन गर्न माग गरिएको सरोकार समितिका अध्यक्ष लालबहादुर खत्रीले बताउनुभयो । विभिन्न समयमा पत्रपत्रिकामा आएका समाचारमा लोकमार्गको चौडाइ आठ मिटर हुने र केन्द्रबाट दायाँबायाँ २५–२५ मिटरको सडक सीमा छोड्नुपर्ने उल्लेख गरिएकाले त्यसो गर्दा आफूहरुको घर, घडेरी र जमिन पूर्णरुपमा क्षति भएर सुकुम्वासी हुने उनीहरुको भनाइ छ । स्थानीयवासीले यो क्षेत्र बजार क्षेत्र भएकाले त्यसो गर्दा ठूलो क्षति हुने भन्दै बरु आफूहरु लोकमार्गका लागि १५ मिटरको बाटो छाड्न तयार रहेको विकल्पसमेत दिएका छन् । अन्यथा आफूहरु सुकुम्वासी हुने भएकाले कम क्षति हुनेगरी ट्र्याक परिवर्तन गर्न आफूहरुले माग गरेको अध्यक्ष खत्रीले बताउनुभयो । “संविधानमा आवासको अधिकारलाई मौलिक हकका रुपमा राखिए पनि एकथरी नागरिकलाई सुविधा दिने नाममा अर्को नागरिकको बास खोस्न मिल्दैन”, अध्यक्ष खत्रीले भन्नुभयो, “हामी विकास विरोधी हैनौँ, कम क्षति गरेर निर्माण गरौँ मात्रै भनेको हो ।” स्थानीयवासीले विकास आयोजना निर्माण गर्दा कुनै व्यक्तिको क्षति भएमा कानुनबमोजिम क्षतिपूर्ति वा मुआब्जा दिनुपर्ने भएपनि राज्यले आफ्नो शक्तिको आडमा जबर्जस्ती व्यक्तिगत सम्पत्तिमा आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । “लोकमार्ग जिल्लाको सदरमुकाम भएर जानु राम्रो कुरा हो”, प्रभावित क्षेत्रका स्थानीयवासी उदयराज लिम्बूले भन्नुभयो, “तर मुख्य बजार भएर लोकमार्गबारे आएका समाचारमा उल्लेख भएजस्तै भए दशकौँअघि देखिको बजार नै पूर्णरुपमा विस्थापित हुन्छ ।” आफूहरुले धनकुटा बसपार्क र पाल्पा बसपार्कको जस्तै मुख्य बजारलाई तर्काएर लोकमार्ग निर्माण गर्न माग गरेको उहाँले बताउनुभयो । लोकमार्गको अस्पष्ट नीतिका कारण पनि स्थानीयवासी हैरान छन् । “राष्ट्रिय गौरवको आयोजना घर नजिकैबाट बन्दा खुसी नहुने कुरै भएन”, स्थानीयवासी शरदमणि दाहालले भन्नुभयो, “तर मापदण्ड कति हो ? सडक कत्रो बन्ने हो भन्ने स्पष्ट नहुँदा सडक छेउमा रहेको आफ्नो घर जग्गा ‘प्यारालाइसिस’ बनाएर राख्नु परेको छ ।” लोकमार्गको स्पष्ट खाका थाहा नहुँदा नगरपालिकाले यस क्षेत्रमा निर्माणाधीन आसपासका घरजग्गा नक्सापास र बैंकले दिने ऋणमा समेत प्रतिबन्ध लगाइएको छ । “जीवनभरको सम्पत्ति घरमा छ, आवश्यक पर्दा दुई पैसा निकालेर काम गर्न पनि नपाइने यो कस्तो व्यवस्था ?”, दाहालले भन्नुभयो, “कि अहिल्यै लोकमार्गले यति हडप्ने हो भनेर कित्ताकाट गर्नुप¥यो, हैन भने अल्मल्याएर हाम्रो सम्पत्ति प्यारालाइसिस बनाउँदै कर असुल्न पाइँदैन ।” जग्गा किनबेच गर्न बन्देज छ, तर कर चाहिँ तिरिराख्नु पर्छ, लोकमार्गको अस्पष्ट नीतिले हामी हैरान छौँ”, स्थानीयवासी शेखर सुवेदीले भन्नुभयो ।
0 notes
nepal123 · 8 years
Text
मध्यपहाडी लोकमार्गका ३२ जिल्लामा अप्टिकल फाइबर
मध्यपहाडी लोकमार्गका ३२ जिल्लामा अप्टिकल फाइबर
१२ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखा आरुघाटसम्मको पहाडी जिल्लामा अप्टिकल फाइबर विस्तार सम्झौता भएको छ । अब नेपाल टेलिकमले आगामी दुईवर्षभित्र मध्यपहाडी राजमार्ग अन्तर्गतका ३२ पहाडी जिल्लामा अप्टिकल फाइबर विस्तारको काम सम्पन्न गर्नुपर्ने छ । सम्झौता भएसँगै मध्यपहाडी राजमार्गको ८ सय ४ किलोमिटर र राजमार्गमा सँग जोडिएको उतर-दक्षिणमा जिल्ला…
View On WordPress
0 notes